मोरङ । काफ्ले समाज, काफ्ले बन्धु कल्याण समिति र काफ्ले बन्धु समाजको साझा अवधारणा अन्तर्गत काफ्ले बन्धु समाज नेपालको ब्यानरमा तीनवटै संस्थाको प्रतिनिधित्व रहने गरी मोरङमा बसोबास गर्ने काफ्ले बन्धुहरुको दोस्रो जिल्ला अधिवेशन पथरीशनिश्चरेमा शनिबार सम्पन्न भएको छ । 

काफ्ले समाज मोरङ जिल्ला तदर्थ समितिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षता तथा केन्द्रीय महिला उपाध्यक्ष दुर्गादेवी खनाल काफ्लेको प्रमुख आतिथ्यमा आयोजित दोस्रो अधिवेशनले विराटनगर महानगर समितिका अध्यक्ष नवराज काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । काफ्ले समाज र काफ्ले बन्धु कल्याण समितिका १०६ जना आजीवन सदस्यहरु रहेको मोरङ जिल्लाबाट सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

काफ्ले समाजको विधान २०५९ अन्तरगत गठित जिल्ला कार्यसमितिमा पथरीशनिश्चरेका टिकाराम काफ्ले उपाध्यक्ष, ग्रामथानका सावित्रा नेपाल काफ्ले महिला उपाध्यक्ष, रंगेलीका दलबहादुर काफ्ले सचिव, लेटाङका चूडामणि काफ्ले सहसचिव र उर्लाबारीका नरेन्द्र काफ्ले कोषाध्यक्षमा चयन हुनु भएको छ। 

जिल्ला कार्यसमितिको सदस्यहरुमा थर्कप्रसाद काफ्ले (उर्लाबारी), अम्बेवर काफ्ले (उर्लाबारी), टेकबहादुर काफ्ले (रतुवामाई), निलमणि काफ्ले (विराटनगर) र झमकबहादुर काफ्ले (सुन्दरहरैंचा) चुनिनु भएको छ । कार्यसमितिले केन्द्रीय तथा प्रदेश कार्यसमितिसँगको परामर्शमा जिल्लाका सबै पालिका र महिलाहरु समेतको प्रतिनिधित्व हुने गरी १० जना सदस्यहरु थप गर्न सकिने गरी हाललाई ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक एवम् समाजका केन्द्रीय सचिव गोपाल काफ्लेले बताउनु भयो ।

काफ्ले समाजका केन्द्रीय उपाध्यक्ष तोयानाथ काफ्लेले नवनिर्वाचित कार्यसमितिलाई काफ्ले समाजको विधान २०५९ को अनुसूचीमा निर्दिष्ट गरिएको सपथ ग्रहण गराउनु भयो भने जिल्ला अध्यक्ष ताराबहादुरले समाजको माइन्युटसहित समाजसँग बचत रहेको नगद नवनिर्वाचित अध्यक्ष नवराजलाई हस्तान्तरण गरी कार्यभार सुम्पनु भयो । 

नवनिर्वाचित अध्यक्ष नवराज काफ्लेले प्रतिवद्धता मन्तब्य राख्नुहुँदै काफ्ले बन्धुहरुका तीनवटा अलग अलग संस्थाहरुबीच कार्यगत एकता गर्ने सहमति पछिको यो अधिवेशनले बन्धु एकतृत गर्नेमा थप हौसला मिलेको बताउनु भयो । उहाँले आफ्नो नेतृत्वमा काफ्ले समाज मोरङले बन्धुहरु बीचको एकता, सामाजिक सद्भाव र कल्याणकारी गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

उक्त अधिवेशनमा काफ्ले समाजका केन्द्रीय सचिव गोपाल काफ्लेले काफ्ले जनगणना तथा घरधुरी सर्वेक्षणको आवश्यकता र महत्व दर्शाउँदै काफ्ले वंशावली दोस्रो संस्करणको तयारीका लागि यी सबै तथ्याङ्कहरु महत्वपूर्ण हुने सुझाव दिनुभयो । उहाँले तनहुँको देवघाटमा निर्माणाधिन शाण्डिल्य ऋषिको प्रतिमासहितको शिवपाञ्चायन मन्दिर, शाण्डिल्य आश्रम र घेराबाराको लागि हरेक परिवारबाट सहयोगको अपेक्षा रहेको सुनाउनु भयो । 

कार्यक्रममा केन्द्रीय उपाध्यक्षद्वय तोयानाथ काफ्ले र दुर्गादेवी खनाल काफ्ले, कोशी प्रदेश महासचिव चिरञ्जीवी काफ्ले, झापा जिल्ला अध्यक्ष नारायणप्रसाद काफ्ले र मोरङ जिल्ला अध्यक्ष एवम् सभाका अध्यक्ष ताराबहादुर काफ्लेले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

काफ्ले समाज मोरङ जिल्ला कार्यसमितिका सचिव अर्जुन काफ्लेले सञ्चालन गर्नुभएको दोस्रो अधिवेशनमा सहभागी एवम् आमन्त्रितहरुलाई विराटनगर महानगर कार्यसमितिका अध्यक्ष नवराज काफ्लेले गर्नुभएको थियो । 
देशभर र विदेशमा पनि छरिएर रहेका काफ्ले बन्धुहरु एक हुने उद्देश्यका साथ संगठित काफ्ले बन्धु समाज नेपालले वंशावलीमा सबै काफ्लेहरुलाई जोड्ने अभियान सुरु गर्दै आएको छ ।